इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
लिभरपुलले मंगलबार राति भएको समूह 'डी' को खेलमा डच क्लब अयाक्सलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
मंगलबार लिभरपुललाई जिताउन १९ वर्षीय मिडफिल्डर जोन्सले निर्णायक गोल गरे। उनले निको विलियम्सको क्रसमा ५८ मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा इटालियन क्लब एटलान्टा र डेनमार्कको मिटिजल्यान्डले १-१ गोलको बराबरी खेलेका छन्।
अन्तिम खेलअघि नकआउट चरणमा पुगेको शीर्ष स्थानको लिभरपुलले समूहमा ५ खेलबाट १२ अंक जोडेको छ।
दोस्रो स्थानको एटलान्टाको ८ अंक छ भने तेस्रो स्थानको अयाक्सको ७ अंक छ। मिटिजल्यान्डले भने १ अंक जोडेको छ। मिटिजल्यान्ड समूह चरणबाटै बाहिरिएको छ।
यता समूह 'सी' को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब एफसी पोर्टोले गोलरहित बराबरी खेलेर अंक बाडेका छन्।
यो समूहको अर्को खेलमा फ्रेञ्च क्लब मार्सेलीले ग्रिसको ओलम्पियाकोसलाई २-१ गोलले हराएको छ।
यसअघि नै नकआउट चरणमा पुगेको इंग्लिस क्लब सिटी बराबरीपछि समूहको शीर्ष स्थानमा रहने पक्का भएको छ। सिटीले समूहको अन्तिम खेलअघि १३ अंक जोडेको छ।
१० अंक जोडेर दोस्रो स्थानमा रहेको पोर्टो पनि अन्तिम १६ मा पुगेको छ। ३-३ अंक जोडेका मार्सेली र ओलम्पियाकोस भने बाहिरिएका छन्।