पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करिअरको ७५० गोल पूरा गरेका छन्।
बुधबार राति युरोपियन च्याम्पियन्स लिगअन्तर्गत युभेन्ट्सले डाइनामो किभलाई पराजित गरेको खेलमा गोल गर्दै रोनाल्डोले करिअरमा ७५० गोल पूरा गरेका हुन्।
युभेन्ट्सले ३–० गोलको जित हात पार्दा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए। उनले खेलको ५७ मिनेटमा अल्भारो मोराटाको पासमा बललाई गोल पोस्टको दिशा दिएका थिए।
३५ वर्षीय रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्ट्सबाट ७५ र स्पोर्टिङ लिस्बनबाट ५ गोल गरेका छन्।
जारी सिजनमा रोनाल्डोको यो युभेन्ट्सका लागि १०औं गोल हो। च्याम्पियन्स लिगमा भने उनले सिजनमा दोस्रो गोल गरेका हुन्।
यहि वर्ष अन्तर्राष्ट्रिय गोल संख्या सय पुर्याएका रोनाल्डोले पोर्चुगलका लगि १०२ गोल गरेका छन्। सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले देशका लागि १७ वर्षमा सय गोल पूरा गरे।
अहिले खेलिरहेका खेलाडी मध्ये ५ सय गोल कटाउने चार खेलाडी मध्ये एक रोनाल्डो हुन्। अहिले खेलिरहेका खेलाडीमा रोनाल्डोसँगै लिओनल मेसी, इब्राहिमोविक र रोबर्ट लेवान्डोस्कीले ५ सय गोल कटाएका छन्।
जसमा मेसी र रोनाल्डोले मात्र ७ सय गोल कटाएका छन्।
करिअरमा सर्वाधिक गोल गर्ने रेकर्ड जोसेफ विकानको नाममा छ। ८०५ करिअर गरेका उनले अस्ट्रिया र चेक गरी दुई देशका लागि खेलेका थिए।
दोस्रो स्थानमा ब्राजिलका रोमारियो छन्। उनले ७७२ गोल गरेका थिए। तेस्रो स्थानमा रहेका ब्राजिलका पेले ७६७ गोल गरेका थिए। रोनाल्डो अब पेलेको रेकर्ड तोड्न १८ गोल मात्र टाढा छन्।