युरोपा लिगअन्तर्गत इंग्लिस क्लब टोटेनहम नकआउट चरणमा प्रवेश गरेको छ।
टोटेनहम बिहीबार समूह 'जे' को खेलमा अस्ट्रियन क्लब लास्कसँग ३-३ गोलको बराबरीमा रोकिए पनि अन्तिम ३२ मा पुगेको हो।
खेलको ४२ मिनेटमा घरेलु टिम लास्कका लागि मिचोर्ल पहिलो गोल गरे। टोटेनहमका लागि पहिलो हाफको इन्जुरी टाइममा बेलले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए।
५६ मिनेटमा सन मिनले गोल गरेपछि टोटेनहमले २-१ को अग्रता लिन सफल भयो। ८४ मिनेटमा इगेरस्टिनले बराबरी गोल गर्न सफल भए।
८६ मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट टोटेनहमले फेरि अग्रता लियो। तर इन्जुरी टाइममा लास्कका कारामोकोले बराबरी गोल फर्काउँदा खेल ३-३ गोलको बराबरीमा सकियो।
यो समूहमा बेल्जियमको रोयल आन्थ्रोप १२ अंक जोडेर अन्तिम ३२ मा स्थान पक्का गरिसकेको छ। दोस्रो स्थानको टोटेनहमले अन्तिम खेलअघि १० अंक जोड्न सफल भयो।
यता आर्सनलले समूह 'बी' को खेलमा र्यापिड भियनालाई ४-१ गोलले पराजित गरेको छ। आर्सनल यसअघि नै अन्तिम ३२ मा पुगिसकेको थियो।
समूहमा आर्सनलले खेलेका पाँच खेलमै जित निकाल्दै १५ अंक जोड्यो। अन्तिम खेलअघि दोस्रो स्थानको मोल्डेको ९ अंक र भियनाको ६ अंक छ।