'इटालियन सिरि ए' मा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सासुओलोले दोस्रो हाफ १० खेलाडीमा खेल्नु परेको थियो।
पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा सासुओलोका ओबियाङले रातो कार्ड पाएका थिए। युभेन्ट्सका चिएसालाई खराब फल गरेपछि ओबियाङलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए।
दोस्रो हाफमा युभेन्ट्सले ३ गोल गर्न सफल भयो। डानिलोले ५० मिनेटमा गोल गरेर युभेन्ट्सलाई अग्रता दिलाएका थिए।
५८ मिनेटमा सासुओलोका डेफ्रेलले बराबरी गोल फर्काए।
८२ मिनेटमा आरोन राम्सेले गोल गरेपछि युभेन्ट्सले खेलमा दोस्रो पटक अग्रता लियो।
दोस्रो हाफको इन्जुरी टाइममा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि तेस्रो गोल गरे। उनले डानिलोको पासमा गोल गरे।
यता लिगको अंक तालिकाको दोस्रो स्थानमा रहेको इन्टर मिलान र तेस्रो स्थानको रोमाले २-२ गोलको बराबरी खेलेका छन्।
लिगमा एसी मिलान १७ खेलबाट ४० अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको इन्टरको ३७ अंक छ भने तेस्रो स्थानको रोमाले ३४ अंक जोडेको छ।
१६ खेलबाट ३३ अंक जोड्दै युभेन्ट्स चौथो स्थानमा उक्लिएको छ।