नेपाली फुटबलर जगजित श्रेष्ठ अस्ट्रेलियन क्लब साउथ एडिलेट प्यान्थर्समा आबद्ध भएका छन्। जगजित सन् २०२१ सिजनका लागि आबद्ध भएको क्लबले सार्वजनिक गरेको छ।
साउथ एडिलेट दक्षिण अस्ट्रेलियाको दोस्रो डिभिजनको लिग खेल्ने क्लब हो। क्लबले सिजनमा दोस्रो डिभिजनको लिग साउथ अस्ट्रेलियन स्टेट लिग-१ खेल्दैछ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर जगजित पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन्। गत सिजनको ए डिभिजन लिग खेल्नका लागि जगजित नेपाल आएका थिए।
गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका जगजितमाथि ५ खेलको प्रतिबन्ध लगाइएको थियो। लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडामा उत्रिएका जगजितसहित ६ खेलाडी कारबाहीमा परेका थिए।
कारबाहीमा परेपछि जगजित अस्ट्रेलिया फर्किएका थिए।
उनले गत सिजन अस्ट्रेलियाकै पारा हिल्सबाट खेलका थिए।
सन् २०१६ मा अस्ट्रेलिया जानुअघि जगजितले तीन सिजन थ्रीस्टार क्लबमा बिताएका थिए।
२०१२ देखि एक सिजन उनी फ्रेण्ड्स क्लबमा आबद्ध भएका थिए। उनले आफ्नो करिअर भने हिमालयन शेर्पा क्लबबाट सुरु गरेका थिए।
नेपाली राष्ट्रिय टिममा सन् २०११ मा डेब्यू गरेका उनले २६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्।