आगामी माघ ७ देखि हुने महिला राष्ट्रिय फुटबल लिगमा सात टिमबीच प्रतिस्पर्धा हुने भएका छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एक महिनासम्म सञ्चालन हुने लिगमा तीन विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ।
यस्तै चौदण्डीगढी नगरपालिका (उदयपुर), विराटनगर महानगरपालिका (मोरङ), वालिङ नगरपालिका (स्याङ्जा) र चन्द्रपुर नगरपालिका (रौतहट) ले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि एन्फाले महिला लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको हो। कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको एन्फाको भनाइ छ।
आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने लिगमा कूल ४२ खेल खेलाइनेछ।
अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो। महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुने टिमले ३ लाख रुपैयाँ पाउनेछन्।
लिगका अधिकांश खेलहरू ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ। उद्घाटन र समापन खेल दशरथ रंगशाला हुनेछ।
लिगमा सहभागी हुने टिमले २३ खेलाडी र ७ अफिसियल टिममा राख्न पाउनेछन्। जसमा चार जना विदेशी खेलाडी राख्न पाइनेछ। महिला लिगमा विदेशी खेलाडी राख्न पहिलो पटक अनुमति दिइएको हो।
लिगको उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार दिनेछ। फेयर प्ले टिमले १ लाख ५० हजार प्राप्त गर्नेछ।
एन्फाले सहभागी सातै टिमलाई तयारीका लागि १ लाख रुपैयाँ दिनेछ भने कोभिड रिलिफ फन्डबाट थप ५० हजार प्रदान गर्नेछ।
सहभागी सबै टिमको बस्ने र खाने व्यवस्थान एन्फाले गर्नेछ।