महिला राष्ट्रिय फुटबल लिगमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २-० गोलले पराजित गरेको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जित निकालेसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले चार अंकको अग्रता लिएको छ।
शीर्ष स्थानको एपिएफको ९ अंक छ भने दोस्रो स्थानको पुलिसको ५ अंक छ।
एपिएफको जितमा अन्जली योन्जन र सरु लिम्बुले एक गोल गरे। जारी प्रतियोगितामा एपिएफले १५ गोल गर्दा कुनै पनि गोल खाएको छैन।
खेलको २७ मिनेटमा अन्जलीले पहिलो गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। उनलाई गोल गर्न सावित्रा भण्डारीले पास दिएकी थिइन्।
पहिलो हाफ सकिनु अघि गोल गर्न सरुलाई सावित्राले नै पास दिएकी थिइन्।
एपिएफकी प्रशिक्षक भगवती थापाले एपिएफ आफ्नो खेल सुधार गर्नमा केन्द्रित रहेको बताउँदै उपाधिको विषयमा अहिले केन्द्रित नभएको बताइन्।
आर्मीका प्रशिक्षक राजु तामाङले मिडफिल्डरले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए।