महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले सानदार जित हात पारेको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १०-० गोलले पराजित गरेको हो।
वालिङको जितमा क्यामरुनी खेलाडी मेथो इलुडिइ रुथले ६ गोल गरिन्। उनले पहिलो हाफमा १२ मिनेटमा भित्रमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले दोस्रो हाफमा थप ३ गोल गरिन्।
वालिङका लागि सम्झना शर्माले दुई गोल गरिन्। मनमाया दमाई र अर्की क्यामरुनी खेलाडी टोउटा नोइलीले एक-एक गोल थपिन्।
उत्कृष्ट लयमा देखिएकी रुथले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। उनले नवौं मिनेटमा दोस्रो गोल गर्दा १९ मिनेटमा ह्याट्रिक गरिन्।
मनमायाले ३३ मिनेटमा गोल गर्दै वालिङलाई ४-० गोलले अघि बढाइन्।
पहिलो हाफमा ४-० ले अघि रहेको वालिङका लागि नोइलीले ४९ मिनेटमा पाँचौ गोल गरेकी थिइन्।
खेलको ६३ मिनेट र ७१ मिनेटमा रुथले टिमका लागि छैटौं र सातौं गोल गरेकी थिइन्।
वालिङका लागि सम्झनाले ८० र ८२ मिनेटमा गरी दुई गोल गरेकी थिइन्।
त्यसपछि रुथले व्यक्तिगत छैटौं गोल गर्दा वालिङले १०-० गोलको अग्रता लियो।
चौदण्डीगढी नगरपालिकाले जारी प्रतियोगितामा तीन खेलमा २३ गोल खाइसकेको छ भने एक गोल मात्र गर्न सकेको छ।
जितसँगै वालिङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले ५ अंक जोडेको छ।