चौदण्डीगढी नगरपालिका उदयपुर महिला राष्ट्रिय लिगमा अंकबिहीन बनेको छ।
शुक्रबार भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग १०-० गोल पराजित भएपछि चौदण्डीगढी अंकबिहीन बनेको हो।
पराजय भोगेसँगै चौदण्डीगढी खेलेका सबै १२ खेलमा पराजित भयो।
जसमा उसले कूल १०६ गोल खायो भने चार गोल गर्न सफल भयो। चौदण्डीगढी प्रतिखेल ८.७५ को औषतमा गोल खान खायो।
लिग च्याम्पियन बनेको नेपाल एपिएफ क्लबविरुद्धको खेलमा चौदण्डीगढीले बढी गोल खाने क्रममा २२-० गोलले पराजित भएको थियो। सो खेलमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा एक्लैले १२ गोल गरेकी थिइन्।
चौदण्डीगढीमा स्थानीय खेलाडीको बाहुल्यता थियो। उसले लिगका लागि विदेशी खेलाडी ल्याउने कोशिस गरे पनि सफल हुन सकेको थिएन।
यता चौदण्डीगढीलाई पराजित गरेसँगै नेपाल पुलिस क्लब भने लिगमा तेस्रो बन्न सफल भएको छ। उसले १८ अंक जोड्यो। चौथो बनेको वालिङ नगरपालिकाले १७ अंक बटुल्यो।
अन्तिम दुई खेलअघि लिग च्याम्पियन बनेको एपिएफले ३३ अंक जोड्दा दोस्रो भएको त्रिभुवन आर्मी क्लबको २६ अंक छ। अन्तिम खेलमा एपिएफ र आर्मीबीच दशरथ रंगशालामा केहीबेरमा खेल हुँदैछ।