स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउ सोमबार पक्राउ परेका छन्।
उनको कार्यकालमा बार्सिलोनामा हिनामिना भएको विषयमा अनुसन्धान गर्न प्रहरीले बार्तामेउलाई पक्राउ गरेको हो।
'बार्सागेट' नाम दिइएको घोटलामा संलग्न भएको आरोपमा क्षेत्रीय प्रहरीले बार्तामेउसहित बार्सिलोनाको बोर्डका पूर्वसदस्यलाई पक्राउ गरेर हिरासतमा राखेको छ।
अधिकारीहरुले बार्तामेउको कार्यकालमा भएका कामहरुको सबै कागजात पनि जफत गरेको छ।
बार्तामेउसहित क्लबका मुख्य कार्यकारी अधिकृत ओस्कार ग्राउ, अध्यक्षका पूर्वसल्लाहकार जेउमे मासफेरर र कानुनी प्रमुख रोमान पोन्टी पनि पक्राउ परेका छन्।
पूर्वअध्यक्ष बार्तामेउले पिआर कम्पनी आइ-३ लाई विदेशी अनलाइन कामका लागि पैसा तिरेको आरोप लगाइएको छ।
क्लबका अध्यक्ष लिओनल मेसीसँग विवाद बढेपछि उनले केही महिनाअघि पदबाट राजीनामा दिएका थिए।