नेपालका चार जना महिला फुटबलर पाकिस्तानमा फुटबल खेल्न शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्। उनीहरू शुक्रबार साँझ दुबई हुँदै पाकिस्तान प्रस्थान गर्नेछन्।
नेपालको राष्ट्रिय लिग च्याम्पियन नेपाल एपिएफ क्लबका मिडफिल्डर सरु लिम्बु, गोलकिपर एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गीता राना र फरवार्ड अनिता केसीले पाकिस्तानको महिला राष्ट्रिय फुटबल च्याम्पियनसिप खेल्न लागेका हुन्।
चारै जना नेपालको राष्ट्रिय टिमका सदस्य हुन्।
उनीहरू चारै जना पाकिस्तानको मासा युनाइटेडमा आबद्ध भएका थिए। तर कति रकममा आबद्ध भएको विषयमा खुलाइएको छैनन्।
एन्जिलासहितका चारै जनाले एपिएफलाई सिजनको राष्ट्रिय लिग जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
चारै जनाले पहिलो पटक विदेशमा फुटबल खेल्न लागेका हुन्। गत सिजन एपिएफका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले भारतको महिला लिग खेलेका थिए।
सन् २००५ देखि सुरु भएको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको २०२१ को संस्करण आगामी मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ।