सातदोबाटो युवा क्लब ए डिभिजन क्लबमा बढुवा भएको छ।
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्ने पक्का भएसँगै सातदोबाटो पहिलो पटक नेपालको शीर्ष डिभिजनको क्लबमा बढुवा भएको हो।
बी डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको खुमलटार युवा क्लब पराजित भएपछि सातदोबाटो बढुवा भएको हो।
खुमलटारलाई शनिबार भएको खेलमा श्री भगवती क्लबले २-१ गोले पराजित गर्यो। जससँगै खुमलटारको शीर्ष डिभिजनमा पुग्ने लक्ष्य समाप्त भयो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट २५ अंक जोडेको छ। दोस्रो स्थानको खुमलटारको १० खेलबाट २२ अंक छ।
अब बाँकी रहेका दुवै खेलमा पराजित भए पनि सातदोबाटो च्याम्पियन बन्नेछ। किनभने एक खेल बाँकी रहेको खुमलटारले जित निकाले सातदोबाटोसँग अंक बराबरी त गर्छ तर, हेड टु हेडमा पछि पर्नेछ।
च्याम्पियन बनेसँगै सातदोबाटोले अब आगामी सिजनको सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ।
अंक तालिका