नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका कुवेतका अब्दुल्लाह अलमुताइरीले आफ्नो पहिलो लक्ष्य नेपाललाई एएफसी एसियन कप २०२३ को तेस्रो चरणमा पुर्याउनु भएको बताएका छन्।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेपछि अब्दुल्लाहले यस्तो बताएका हुन्।
नेपालले फिफा विश्वकप २०२२ तथा एएएफसी एसियन कप २०२३ को दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको छ। समूह 'बी' रहेको नेपाल चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि चाइनिज ताइपेई छ।
एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बनाउन समूहमा कम्तिमा चौथो हुनु पर्छ। पाँचौ टिमले पनि प्लेअफका लागि खेल्न पाउने सम्भावना हुन्छ।
छनोटअन्तर्गत नेपालले आगामी जुनमा कुवेतमा जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।
छनोटका लागि प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य भएपछि नेपालले अब्दुल्लाहलाई नियुक्त गरेको हो।
एन्फाको प्राविधिक समितिको सिफारिसमा गत चैत १८ गतेदेखि लागू हुने गरी एन्फा सचिवालयले उनलाई नियुक्त गरेको एन्फा प्रवक्ता किरण राईले बताए।
उनलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरिएको छ। उनको तलब तथा अन्य खर्च कतार फुटबल एसोसिएसनले बेहोर्नेछ। एन्फाले उनलाई यातायात र आवास सुविधा दिनेछ।
कतार फुटबल एसोसिएसन र एन्फाबीच भएको सम्झौता अनुसार उनलाई कतार फुटबल एसोसिएनसले नेपाल पठाएको हो।
अब्दुल्लाहले नेपालको प्रशिक्षक बन्दा खुसी लागेको प्रतिक्रिया दिए।
'अब नेपाली जनतालाई खुसी बनाउनु मेरो चुनौती हो। अहिले धेरै बाचा गर्दिन। तर सबैलाई नेपाली टिमप्रति गर्व गर्ने बनाउँछु। नेपाली झण्डाका लागि लड्नेछु।'
उनले नेपाली खेलाडीमा क्षमता भएको बताउँदै नेपाल सुपर लिगपछि बन्द प्रशिक्षण सुरु गर्ने बताए। नेपालमा केही साता अभ्यास गरेपछि खाडी राष्ट्रमा अभ्यास गराउने आफ्नो योजना रहेको उनले सुनाए।
'यहाँ एक साता अभ्यास गरेपछि हामी कतार वा बहराइन जानेछौं। त्यहाँ १५ दिन अभ्यास गरेर कुवेतमा प्रतिस्पर्धा गर्न जाने योजना छ,' उनले भने।
नेपाली जनतालाई साफ च्याम्पियनसिपको उपाधि जितेर खुसी दिलाउन चाहेको उनले बताए। त्यसका लागि मैदानमा निडर भएर खेल्नु पर्ने उनको भनाइ छ।
'सबैले मैदानमा लाड्नु पर्नेछ। पहिले हामीले समूह चरणमा राम्रो खेल्नु पर्छ। त्यसपछि अर्को चरण पार गर्दै फाइनलमा खेल्नुपर्छ,' उनले भने, 'दक्षिण एसियाका टिमहरूमा खासै भिन्नता छैन। सबैले एकअर्कालाई चिनेका छन्। अब हामी उपाधि जित्नका लागि खेल्नेछौं। उपाधि जित्नका लागि हर प्रयास गर्नेछौं।'
नेपालका राष्ट्रिय खेलाडीको खेल हेरेको बताउँदै उनले अघि भने,' नेपाली टिममा तीन वर्षमा ५१ जनाले खेलेका छन्। ती सबैको रिपोर्ट मसँग छ। त्यसको आधारमा टिम छनोट गर्नेछु। सबैको खेलको अध्ययन गरिरहेको छु।'
नडराई अघि बढेमा आफ्नो लक्ष्य प्राप्त सकिने तर्क गर्दै उनले अब नेपालले सुन्दर फुटबल खेल्ने बताए।
'हामी धेरै डरायौ भने माथिल्लो स्तरमा पुग्दैनौं। हामी अब रक्षात्मक हुनेछैनौ, डराएर खेल्नेछैनौं। हामी सुन्दर फुटबल खेल्नेछौं। त्यसका लागि हामी चतुर हुनुपर्छ,' उनले भने।
सन् २०११ देखि कोचिङ करिअर सुरु गरेका अब्दुल्लाहसँग कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएको अनुभव छ।
यस्तै उनले किर्गिस्तानको यु-१७ टिम, साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेका थिए।