विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अफ्रिकन रूट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै अफ्रिकन रूट उपाधि नजिक पुगेको हो ।
अफ्रिकनलाई जिताउन बासेक र मौसाले एक-एक गोल गरे ।
खेलको तेस्रो मिनेटमै राम्रोसँग सम्हालिन नपाएको पुलिसको रक्षापंतीलाई चिर्दै बासेक अफ्रिकनलाई अग्रता दिलाएका थिए ।
अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमा पुलिसले गोल गर्ने केही राम्रा मौका पाए पनि फिनिसिङ गर्न नसक्दा पछि पर्यो।
दोस्रो हाफमा पनि आफ्नो दबदबा कायमै राखेको पाहुना टोली अफ्रिकनले पुलिसलाई गोलको कुनै मौका दिएन। खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।
सहभागिता जनाएको पहिलो पटकमै अफ्रिकन उपाधि नजिक पुगेको हो। यो सँगै ६ पटकको च्याम्पियन पुलिस सेमिफाइनलबाटै घर फर्किएको छ।
अब उपाधिका लागि शनिबार अफ्रिकनले काठमाडौंको संकटा क्लबसँग खेल्नेछ।
संकटाले अर्को विभागीय टोली एपीएफलाई हराएर फाइनल पुगेको हो।
प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रूपैँया सहित ट्रफी र प्रमाणपत्र हात पार्नेछ। यस्तै उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।