नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रवि पासवानले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
गत महिना भएको अक्सनमा रविलाई कुनै पनि टिमले आबद्ध गरेका थिएनन्।
पोखरामा आबद्ध भएका मिडफिल्डर सुजल श्रेष्ठले चोटका कारण एनएसएल नखेल्ने भएपछि रविलाई भित्र्याइएको हो।
थ्री नेसन्स कपका दौरान घाइते भएका सुजलले अझै तीन साता आराम गर्नुपर्ने भएपछि पोखराले उनको स्थानमा नेपाल पुलिस क्लबका खेलाडी रविलाई भित्र्याएको हो।
सुजल अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा पोखरामा आबद्ध भएका थिए। टिमबाट आबद्ध भएका सुजल अब व्यवस्थापकीय भूमिकामा रहने बताइएको छ।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।