स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण भएको छ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेग खेल्ने दुई दिनअघि उनलाई कोरोना लागेको पुष्टि भएको हो।
रियलले अन्तिम ८ को दोस्रो लेगमा बिहीबार राति इंग्लिस क्लब लिभरपुलविरुद्ध खेल्दैछ।
यसअघि रामोसले चोटका कारण पहिलो लेग पनि गुमाएका थिए।
घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ गोलले पराजित गरेको थियो।
लिभरपुलको मैदानमा हुने दोस्रो लेगमा पनि रियलले अब नियमित कप्तान रामोसबिना खेल्नु पर्नेछ।
३५ वर्षीय डिफेन्डर रामोस अब १० दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ। त्यसपछि कोरोना टेस्टको नेगेटिभ नतिजा आए मात्र उनले खेल्न पाउनेछन्। रामोसले च्याम्पियन्स लिगबाहेक ला लिगाका दुई खेल पनि गुमाउने भएका छन्।
च्याम्पियन्स लिगअन्तर्गत आज राति बायर्न म्युनिख र पिएसजी तथा एफसी पोर्टो र चेल्सीबीच खेल हुनेछ।
पहिलो लेगमा पिएसजीले बार्यनलाई ३-२ तथा चेल्सीले पोर्टोलाई २-० ले हराएका थिए।
बिहीबार लिभरपुल र रियल म्याड्रिडसँगै बोरुसिया डर्टमुन्ड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ।
पहिलो खेलमा रियलले लिभरपुलाई ३-१ ले हराउँदा सिटीले डर्टमुन्डमाथि २-१ को जित हात पारेको थियो।