एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ।
आर्मीलाई बुधबार भारतको गोवामा भएको खेलमा बेंगलुरू एफसीले ५-० गोलले पराजित गर्यो।
पराजयसँगै आर्मी कपबाट बाहिरिएको छ। यसअघि आर्मीले प्रारम्भिक छनोटको पहिलो खेलमा गत साता दशरथ रंगशालामा श्रीलंका पुलिसलाई ५-१ गोलले पराजित गरेको थियो।
बुधबार गोवामा आर्मीले घरेलु टिमलाई पहिलो हाफमा गोलरहित बराबरी रोकेको थियो। तर दोस्रो हाफमा घरेलु टिम बेंगलुरू उत्कृष्ट लयमा देखियो।
बेंगलुरूका लागि राहुल भेके र क्लेन्टन सिल्भाले दुई दुई गोल गरे। राहुलले खेलको ५१ र ६५ मिनेटमा गोल गरेका थिए। सिल्भाले ६१ र ६५ मिनेटमा गोल गरे।
कप्तान सुनील क्षेत्रीले ५२ मिनेटमा एक गोल गरे।
आर्मीले १४ मिनेट भित्र पाँच गोल खादा दबाबमा परेको थियो।