नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुँदैछ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धामा सात टिमबीच प्रतिस्पर्धा हुँदैछ।
कोरोना भाइरसका कारण दर्शकबिना खेल हुने आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्टले जनाएको छ।
प्रतियोगिताको विजेतालाई ३५ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ। चार पोजिसनका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरिनेछ। एक जना इमर्जिङ खेलाडीलाई पनि पुरस्कार दिने आयोजकको भनाइ छ।
प्लेयर अफ दि म्याचलाई २५ हजार प्रदान गरिनेछ। प्रत्येक खेलमा इमर्जिङ खेलाडीलाई १० हजार रुपैयाँ दिइनेछ।
शनिबार अपरान्ह ५:३० बजे हुने पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच खेल हुनेछ।
प्रतियोगिताअघि सबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्य रहेको बताए। साथै सबै प्रशिक्षक र कप्तानले तयारीका लागि छोटो समय भएको भनाइ राखेका थिए।
धनगढी एफसीका प्रशिक्षक युगलकिशोर राई र कप्तान किरणकुमार लिम्बुले छोटो तयारी भएपनि उपाधिका लागि खेल्ने बताए।
विराटनगर सिटी एफसीका प्रशिक्षक यान ल र कप्तान रञ्जिन धिमालले छोटो तयारीका बावजुद उपाधिका लागि खेल्ने बताए। प्रतियोगिताका एक मात्र विदेशी प्रशिक्षकको रुपमा रहेका भारतका यानले पहिलो प्रतियोगिताको विजेतालाई सबैले सम्झिने भएकाले उपाधि जित्दा राम्रो हुने भनाइ राखे।
बुटवल लुम्बिनी एफसीका प्रशिक्षक सनोज श्रेष्ठ र कप्तान विशाल श्रेष्ठले पनि सबै खेलाडी फिट रहेकाले उपाधि जित्न सक्षम रहेको बताए।
एफसी चितवनका प्रशिक्षक मेघराज केसीले उपाधिको जित्ने लक्ष्य लिएको भनाइ राखे। कप्तान भरत खवासले एएफसी कपका कारणले तयारी असर गरेकाले एक साता मात्र तयारी गरेको प्रतिक्रिया दिए।
काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन राम्रो फुटबल खेलेर च्याम्पियन बन्ने बताए। कप्तान विकेश कुथुले प्रतियोगिता सबै खेलाडीका लागि अवसर भएको भनाइ राखे।
ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदीप हुमागाइले टिम सेट राम्रो भएको बताए। शनिबारको खेलपछि टिमको अवस्था थाहा हुने उनको भनाइ छ। ललितपुरको लक्ष्य उपाधि जित्ने रहेको उनको भनाइ छ। कप्तान अन्जन विष्ट पनि प्रशिक्षक हुमागाइको भनाइमा सहमत थिए।
पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेको प्रतिनिधित्व गर्दै प्रशिक्षक राजेश शाहीले बोलेका थिए। उनले प्रतियोगिताले नेपाली फुटबललाई फाइदा पुग्ने बताए। कप्तान अनिल गुरुङले छोटो तयारी मात्र गर्न पाएको बताए।