नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र ललितपुर सिटीबीचको खेल बराबरीमा सकिएको छ।
सोमबार दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
ललितपुरका लागि कमल श्रेष्ठ गोल गरे। श्रेष्ठले खेलको ४९ मिनेटमा डिबक्स बाहिरबाट हानेको लामो क्रसले सिधैं गोलपोस्टको दिशा लिएको थियो।
दोस्रोको इन्जुरी टाइममा चितवनले पेनाल्टीबाट बराबरी गोल फर्कायो। डिबक्सभित्र ललितपुरका एरिक बिष्टले ह्यान्ड गरेपछि प्राप्त अवसरमा चितवनका अमित तामाङले बराबरी गोल फर्काए।
त्यसअघि २१ मिनेटमा चितवनका गोलकिपर विशाल सुनारले ललितपुरको पेनाल्टीलाई विफल पारिदिएका थिए।
ललितपुरका कप्तान अन्जन विष्टको पेनाल्टी प्रहारलाई विशालले पञ्च गरेर फर्काएका थिए। रिबाउन्डमा विमल रानाको प्रहारलाई पनि विशालले खुट्टाले पोस्टमाथि पठाएका थिए।
एनएसएलमा चितवनको यो पहिलो खेल हो। ललितपुरले भने आफ्नो दोस्रो खेल खेलेको हो। ललितपुर आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० गोलले पराजित भएको थियो।