सरकारले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय सार्वजनिक गरेको छ।
यसअघि गत चैत २० गतेको मन्त्रिपरिषद् बैठकले नेपाली खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो। जुन निर्णय बुधबार सरकारका प्रवक्ता पार्वत गुरुङले सार्वजनिक गरे।
गुरुङका अनुसार नेपाली टिमका २३ खेलाडीलाई जनही चार लाख र तीन प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ प्रदान गरिनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गत महिना भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरेका थिए। जससँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको थियो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको थियो।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका थिए।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा थियो।