युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा सिटीले २-१ गोलको जित हात पारेको हो।
खेलमा अग्रता भने पिएसजीले लियो। पिएसजीका मार्किन्हसले खेलको १५ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफमा १-० गोलले पछि परेको सिटीका लागि ६४ मिनेटमा केभिन डे ब्रुएन बराबरी गोल फर्काउन सफल भए।
सात मिनेट पछि सिटीले खेलमा अग्रता लिन सफल भयो। ७१ मिनेटमा महारेजले फ्रिकिकमा सिधैं गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए।
घरेलु टिम पिएसजी खेलको ७७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। इड्रिसा गेयेलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। उनले गुन्डोगनमाथि फल गरेका थिए।
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले १-१ गोलको बराबरी खेलेका थिए।
अब दोस्रो लेग आगामी साता हुनेछ।