नेपालले सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र इराकबीच मैत्रीपूर्ण खेल हुने बिहीबार पक्का भएको जनाएको छ।
यसअघि इराक फुटबल एसोसिएसनले इराकले नेपाल र ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने गत आइतबार नै सार्वजनिक गरेको थियो।
नेपाल र इराकबीच आगामी मे २९ (जेठ १५) मा मैत्रीपूर्ण खेल हुनेछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ।
विश्वकप तथा एसियन कपको छनोटको तयारीका क्रममा मैत्रीपूर्ण खेल हुन लागेको हो।
नेपाल र इराकबीच यसअघि तीन पटक प्रतिस्पर्धा भएको छ। तीनै खेलमा इराक विजयी भएको थियो। पछिल्लो पटक २००१ मा भएको विश्वकप छनोटमा इराकले नेपाललाई ४-२ गोलले पराजित गरेको थियो।
फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ।
नेपालले फिफा विश्वकप २०२२ तथा एएएफसी एसियन कप २०२३ को दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको छ। समूह 'बी' रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
छनोटअन्तर्गत नेपालले आगामी जुन पहिलो साता जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ। समूहका सबै खेल कुवेतमा हुनेछन्।
नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपालले छनोटका लागि आगामी जेठ ३ बाट तयारी सुरु गर्दैछ। तयारीका लागि प्रशिक्षक अब्दुल्लाहले ३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरिसकेका छन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), विकेश कुथु, दीप कार्की, विशाल सुनार
डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास
मिडफिल्डर : त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनील बल, रवि पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकास बुढाथोकी, श्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा
फरवार्ड : दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ