नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले पहिलो जित हात पारेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको हो।
यसअघि ललितपुरले चार खेलसम्म जित हात पार्न सकेको थिएन। पहिलो खेलमा पराजित भएको ललितपुर त्यसपछि लगातार तीन खेलमा बराबरीमा रोकिएको थियो।
लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गरेको थियो। हुमागाईँ बर्खास्तगीमा परेपछि सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको प्रशिक्षण सम्हालिरहेका छन्।
ललितपुरलाई पहिलो जित दिलाउन खेलको पाँचौ मिनेटमा नुर्लान जाहिदले गरेको गोल निर्णायक बन्यो।
कमल श्रेष्ठको कर्नर बलमा डिबक्स भित्र निरज बस्नेतले बाइसाइकल किक हानेका थिए। सो बलमा अन्जन विष्टको हेडर हावामै रहेको अवस्थामा सिक्स यार्ड बक्समा रहेका जाहिदले गोल गरे।
गोलकर्ता नुर्लानमाथि ४० मिनेटमा बुटवलका अभिषेक रिजालले डरलाग्दो फल गरेका थिए। रिजालको किकले नुर्लानको मुखमा लागेको थियो। जसका कारण उनी दोस्रो हाफमा मैदान उत्रन सकेनन्।
अभिषेक ललितपुरविरुद्ध खेल्दै सुपर लिगमा डेब्यू गरेका हुन्। उनलाई लुम्बिनीले विदेशी खेलाडी अर्मान्डको स्थानमा भित्र्याएको हो।
अंक तालिकामा धनगढी एफसी शीर्ष स्थानमा छ। ५ खेलबाट १० अंक जोडेको धनगढी अन्तिम खेलअघि नै प्लेअफमा पुगिसकेको छ।
दोस्रो स्थानको विराटनगर सिटी एफसीको ४ खेलबाट ७ अंक रहेको छ। तेस्रो स्थानको काठमाडौं रेजर्सको पनि ७ अंक नै छ।
बिहीबार हात पारेको जितसँगै ललितपुर अंक तालिकाको चौथो स्थानमा पुगेको छ। उसले अन्तिम खेलअघि ६ अंक बटुलेको छ।
बुटवल लुम्बिनी भने ५ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको पोखरा थन्डर्सको ५ अंक छ भने पुछारको एफसी चितवनको २ अंक मात्र छ।