नेपाल सुपर लिगअन्तर्गत बिहीबार साँझ भएको काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीचको खेलमा ९ गोल भएको छ।
दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा काठमाडौंले ५-४ गोलको जित हात पार्यो।
खेलमा २-० ले पछि परेको काठमाडौंले त्यसपछि ५ गोल गर्न सफल भयो।
खेलमा काठमाडौंका लागि मेसौकेले ह्याट्रिक गरे भने स्टेफान बिनोङ र छिरिङ गुरुङले १-१ गोल थपे।
विराटनगरका लागि पेड्रो मान्जीले दुई गोल गर्दा एडेलाजा र रञ्जित धिमालले १-१ गोल गरे।
खेलको छैटौं मिनेटमा एडेलाजाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। ३४ मिनेटमा पेड्रोले विराटगरको अग्रता दोब्बर पारे।
त्यसपछि काठमाडौंले ६ मिनेटको अन्तरमा तीन गोल गर्यो। उसका लागि मेसौकेले ३५ र ३६ मिनेटमा लगातार गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
४१ मिनेटमा स्टेफानले तेस्रो गोल गर्दा काठमाडौं पहिलो हाफमा ३-२ ले अघि रह्यो।
६८ मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गर्दा काठमाडौंको अग्रता ४-२ मा पुग्यो।
विराटनगरका रन्जित धिमालले ७९ मिनेटमा अर्को गोल गरे। सो गोलपछि खेलमा काठमाडौं ४-३ ले अघि रहेको अवस्था बन्यो।
८३ मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५-३ ले अघि बढाए।
दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा विराटनगरका पेड्रोले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरे।
त्यतिबेलासम्म विराटनगरलाई खेलमा फर्कन ढिलो भइसकेको थियो। जसका कारण काठमाडौं ५-४ ले विजयी भयो।
जितसँगै काठमाडौं प्लेअफमा पुग्न सफल भयो। अन्तिम खेलअघि दोस्रो स्थानमा उक्लिएको काठमाडौंले १० अंक जोडेको छ। शीर्ष स्थानको धनगढी एफसी पनि १० अंक जोडेर प्लेअफमा पुगिसकेको छ।
यता विराटनगर सिटीको ७ अंक छ। विराटनगर सिटी तेस्रो स्थानमा झरेको छ।
चौथो स्थानको ललितपुर सिटीको ६ अंक छ। बुटवल लुम्बिनी एफसी ५ अंक जोड्दै पाँचौ स्थानमा, पोखरा थन्डर्स ५ अंक जोड्दै छैटौं स्थानमा र एफसी चितवन २ अंक जोडेर सातौं स्थानमा छन्।