नेपाल सुपर लिगको निर्णायक खेलमा जित निकाल्दै बुटवल लुम्बिनी एफसी प्लेअफमा पुगेको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै बुटवल शीर्ष चारमा रहेर प्लेअफमा पुगेको हो।
बुटवलको जितमा सुमन लामाले निर्णायक गोल गरे। खेलको ८० मिनेटमा विलियमले दिएको सटिक पासमा लामाले सिक्स यार्डबक्सबाट गोल गरेका थिए।
अंक तालिकाको चौथो स्थानमा रहेको बुटवलले लिग चरणको सबै खेल खेल्दा ८ अंक जोड्यो। ८ अंक नै जोडेको पोखरा थन्डर्स भने बाहिरियो। बुटवल हेड टु हेडमा अघि रहदै चौथो स्थानमा रहेको हो।
यसअघि शीर्ष स्थानको धनगढी एफसी १० अंक जोडेर प्लेअफमा पुगेको थियो। दोस्रो स्थानको काठमाडौं रेजर्स पनि १० अंक जोडेर प्लेअफमा पुगिसकेको छ। धनगढी र काठमाडौं शीर्ष दुई भित्र पर्ने पक्का भइसकेको छ।
आइतबार लिग चरणको अन्तिम खेलमा एफसी चितवन र काठमाडौं भिडेपछि शीर्ष स्थानमा रहेन टिमको टुंगो लाग्नेछ।
यसअघि ललितपुर सिटी एफसीले पनि ९ अंक जोडेर तेस्रो स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको थियो। ललितपुरले शनिबार विराटनगर सिटी एफसीलाई ४-० गोलले पराजित गरेको थियो।
पोखरासँगै विराटनगर र एफसी चितवन भने बाहिरिएका छन्।
अब धनगढी र काठमाडौंबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ।
दोस्रो क्वालिफायरमा ललितपुर र बुटवलबीच खेल हुनेछ। जित हात पार्ने टिम एलिमिनेटरमा पुग्नेछ भने हार्ने टिम बाहिरिनेछ।
एलिमिनेटरमा पहिलो क्वालिफायरको हार्ने टिम र दोस्रो क्वालिफायरको विजेता टिमबीच खेल हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ।