इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको छ।
आइतबार १-० गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले १० खेलाडीमा सीमित भिल्लामाथि जित निकालेको हो।
खेलको २४ मिनेटमा ट्राओरेले गोल गर्दै भिल्लालाई अग्रता दिलाए। पहिलो हाफमा १-० ले पछि परेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ५२ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए।
५६ मिनेटमा ग्रिनउडले गोल गरेर युनाइटेडलाई २-१ को अग्रता दिलाए। ८७ मिनेटमा काभानीले युनाइटेडका लागि तेस्रो गोल गरे।
भिल्लाका वाट्किन्सले ८९ मिनेट दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
जितसँगै युनाइटेड सिजनमा शीर्ष चारमा रहने पक्का भएको छ।
दोस्रो स्थानको युनाइटेड विजयी भएसँगै म्यानचेस्टर सिटीले उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ। सिटीलाई तीन खेलअघि उपाधि जित्न ३ अंकको आवश्यक छ।
अब युनाइटेडले मंगलबार क्रिस्टल प्यालेस र बिहीबार लिभरपुलसँग खेल्दैछ। यी दुई मध्ये एक खेलमा युनाइटेड पराजित भए सिटीले उपाधि जित्नेछ। दुवै खेलमा युनाइटेड विजयी भएको अवस्थामा म्यानचेस्टर सिटीले शुक्रबार न्युकालस युनाइटेड हराए पनि उपाधि जित्नेछ।
अंक तालिकामा सिटीको ३५ खेलबाट ८० अंक छ भने दोस्रो स्थानको युनाइटेडको ३४ खेलबाट ७० अंक छ।