धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई २-१ गोलले पराजित गर्दै धनगढी फाइनलमा पुगेको हो।
हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।
अब काठमाडौंले बिहीबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। ललितपुर र बुटवलबीच बुधबार खेल हुनेछ।
मंगलबारको खेलमा अग्रता भने काठमाडौंले लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ मिनेटमा तेज तामाङले गोल गरेर काठमाडौंलाई अग्रता दिलाए। उनले मेसौकेको क्रसमा गोल गरेका थिए।
धनगढीले तीन मिनेटपछि बराबरी गोल फर्कायो। पुजन उपरकोटीले ७८ मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा निर्धारित समयको खेल बराबरीमा सकियो।
३० मिनेट थप गरिएको समयमा धनगढीले अग्रता लियो। धनगढीका लागि विशाल राईले १०८औं मिनेटमा गोल गरे।
डिबक्स नजिकबाट वैकल्पिक खेलाडी रमेश दंगालको हेडर विशालको खुट्टामा पुगेको थियो। जसमा विशालले कुनै गल्ति गरेरन्।