इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोलले पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा जोटा ३४ मिनेटमा गोल गर्दा फिर्मिनोले पहिलो हाफको इन्जुरी टाइम र ४७ मिनेटमा गरी दुई गोल गरे। लिभरपुलका लागि चौथो गोल सलाहले ९० मिनेटमा गरे।
म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले १० मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। यस्तै रास्फोडले ६८ मिनेटमा गोल गर्दा खेलमा लिभरपुलले ३-२ को अग्रता लिएको अवस्था थियो।
जितसँगै लिभरपुलले शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने आसा जीवितै राखेको छ।
पाँचौ स्थानको लिभरपुलको ३५ खेलबाट ६० अंक भएको छ। चौथो स्थानको चेल्सीको ३६ खेलबाट ६४ र तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ।
युनाइटेडले अन्तिम दुई खेलअघि ७० अंक जोडेको छ। ८० अंक जोडेको म्यानचेस्टर सिटीले तीन खेलअघि नै उपाधि जितिसकेको छ।