स्पेनिस ला लिगामा रियल म्याड्रिडले ग्रानडामाथि सानदार जित हात पारेको छ। बिहीबार ग्रानडाको मैदानमा भएको खेलमा रियलले ४-१ गोलको जित हात पारेको हो।
रियलको जितमा लुका मोड्रिकले १७ मिनेटमा पहिलो गोल गरे। रोद्रिगोले पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा अग्रता दोब्बर पारे।
ग्रानडाका मोलिनाले ७१ मिनेटमा गोल फर्काउँदा खेलमा रियलले २-१ गोलको अग्रता लिएको अवस्था थियो।
७५ मिनेटमा रियलका लागि ओद्रिओजोलाले तेस्रो गोल गरे। एक मिनेटपछि करिम बेन्जिमाले टिमका लागि चौथो गोल गरेका थिए।
जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले अन्तिम दुई खेलअघि ७८ अंक जोडेको छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको २ अंक बढी ८० अंक छ।
अन्तिम दुई खेलअघि एट्लेटिकोले बाँकी दुई मध्ये एक खेलमा पराजय भोगेको अवस्थामा दुवै खेलमा जित हात पारेको रियलले उपाधि जित्न सक्नेछ।
यद्यपी आगामी आइतबार एट्लेटिकोले उपाधि जित्न सक्नेछ। आइतबार एट्लेटिकोले ओसासुनलाई हराएको अवस्थामा रियलले एथ्लेटिक बिल्बाओलाई पराजित गर्न नसके एट्लेटिकोले उपाधि जित्नेछ।