युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीले लाट्भियालाई ७-१ गोलले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा जर्मनीले पहिलो हाफमै ५ गोल गरेको थियो।
जर्मनीका लागि गोसेन्सले १९ मिनेटमा पहिलो गोल गरे। २१ मिनेटमा गुन्डोगनले अग्रता दोब्बर पारे।
२७ मिनेटमा थोमस मुलरले जर्मनीको अग्रता ३-० मा पुर्याएका थिए। लाट्भियाका ओजोल्सले ३९ मिनेटमा आत्मघाती गोल गरेका थिए।
४५ मिनेटमा गिनर्बीले जर्मनीका लागि पाँचौ गोल गरे।
५० मिनेटमा वेर्नर र ७६ मिनेटमा लिरोए सानेले जर्मनीका लागि थप गोल गरे।
गत बुधबार भएको खेलमा जर्मनी डेनमार्कसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
युरो २०२० मा जर्मनी समूह 'एफ' मा छ। यो समूहमा जर्मनीसँगै फ्रान्स, पोर्चुगल र हंगेरी छन्। जर्मनीले आफ्नो पहिलो खेल १५ जुनमा विश्वविजेता फ्रान्ससँग खेल्नेछ।