युरो २०२० अन्तर्गत आज पहिलो चरणका खेल सकिँदैछन्। आज समूह 'एफ' का दुई खेल हुँदैछन्।
राति ९:४५ बजे साविक विजेता पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ। खेलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो लक्ष्य युरो कप जित्ने भएको बताएका छन्।
पोर्चुगलले युरोका लागि राम्रो तयारी गरेको बताउँदै रोनाल्डोले पहिलो खेल जित्नु महत्वपूर्ण हुने बताए।
पोर्चुगल र हंगेरीबीच अहिलेसम्म १३ खेल भएका छन्। जसमा पोर्चुगल अपराजित छ। १३ मध्ये पोर्चुगलले ९ जित निकाल्दा ४ खेल बराबरीमा सकिएका छन्।
हंगेरीले १० भन्दा बढी खेलमा प्रतिस्पर्धा गरेका प्रतिद्वन्द्वी मध्ये पोर्चुगललाई मात्र पराजित गर्न सकेको छैन।
आजको दोस्रो खेलमा बलिया प्रतिस्पर्धी फ्रान्स र जर्मनीबीच खेल हुँदैछ। जर्मनीको म्युनिखमा हुने खेल राति १२:४५ बजे सुरू हुनेछ।
दुई पूर्व विश्व विजेताबीच हुने खेल समूह चरणको बहुप्रतिक्षित खेल हो।
फ्रान्सको टिममा करिम बेन्जिमा फर्किएका छन्। बेन्जिमासँगै एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पे टिममा हुँदा फ्रेन्च टिममा सकारात्मक प्रभाव पर्नेछ।
फ्रान्सविरुद्धको खेलअघि जर्मनीका प्रशिक्षक जोचिम लोले दुवै टिमसँग उत्कृष्ट अंग्रपक्ति भएकाले प्रत्येक सेकेन्ड खेलमा केन्द्रीत हुनु पर्ने बताएका छन्।
जर्मनीविरुद्ध खेलका पछिल्ला पाँच खेलमा फ्रान्स अपराजित छ। पाँच मध्ये फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएका छन्।