एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ।
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो।
एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो।
कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण नयाँ नियम बनाइएको हो।
यसअघि १५ टिम मात्र तेस्रो चरणमा सिधा पुग्ने नियम थियो। ११ टिम प्लेअफ खेल्नु पर्ने नियमअनुसार नेपाल प्लेअफमा पुगेको थियो। प्लेअफमा ११ टिमबीच प्रतिस्पर्धा हुँदा ९ ले तेस्रो चरणमा स्थान बनाउने प्रावधान थियो।
एएफसीको नयाँ नियमअनुसार तेस्रो चरणमा पुगेका टिममा ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्केमिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स र किर्गिस्तान छन्।
यसैगरी भारत, थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, नेपाल, म्यानमार,यमन र बंगलादेश रहेका छन्।
बाँकी चार टिम भने प्लेआफ राउन्डमा पुगेका छन्। प्लेअफमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र गुआम रहेका छन्। यी मध्ये दुई टिम तेस्रो चरणमा पुग्नेछन्।
तेस्रो चरणमा नेपालसहित २४ टिमबीच प्रतिस्पर्धा हुनेछ। २४ टिम मध्ये ११ टिमले सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसियन कपमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
तेस्रो चरणमा ४-४ टिम सम्मिलिन ६ समूहमा प्रतिस्पर्धा हुनेछ। शीर्ष ६ टिम एसियन कपमा पुग्नेछन्। उत्कृष्ट ५ टिमले पनि एसियन कपमा स्थान बनाउनेछन्। दोस्रो हुने एक टिम भने बाहिरिनेछ।
एसियन कपका लागि आयोजक चीनसहित १३ टिम भने दोस्रो चरणको छनोटबाट छानिएका छन्।
२०२३ को एसियन कपमा २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
मंगलबार अन्तिम खेलहरू भएसँगै दोस्रो चरणको प्रतिस्पर्धा सकिएको हो।
दोस्रो चरणमा नेपालसहित ४० वटा एसियन टिमबीच प्रतिस्पर्धा भयो। ८ समूहका ५-५ टिमबीच प्रतिस्पर्धा भएको थियो।
दोस्रो चरणबाट १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा पुगेका छन्। समूहका शीर्ष ७ टिम र समूहमा दोस्रो चएका उत्कृष्ट पाँच टिम गरी १२ टिम विश्वकप छनोटको दोस्रो चरणमा पुगे।
समूहमा शीर्ष भएको कतार आयोजकको रूपमा विश्वकपमा छनोट भइसकेकाले तेस्रो चरण नखेल्ने भएकाले दोस्रो भएको मध्ये थप एक टिमले अवसर पायो।
विश्वकप छनोटमा तेस्रो चरणमा सिरिया,अस्ट्रेलिया, इरान, साउदी अरेबिया, जापान, युएई, दक्षिण कोरिया, चीन, ओमान, इराक, भियतनाम र लेवानान विश्वकप छनोटको तेस्रो चरणमा पुगे। यी १२ टिम र कतार एसियन कप २०२३ मा सिधैं छनोट भए। चीन आयोजकको रुपमा एसियन कपमा पुगेकाले दोस्रो भएका मध्ये थप एक टिम सिधै एसिया कपमा पुगेका हुन्।