युरो २०२० मा स्विडेनले पहिलो जित हात पारेको छ। शुक्रबार साँझ भएको समूह 'ई' को खेलमा स्विडेनले स्लोभाकियालाई १-० गोलले पराजित गरेको हो।
यसअघि स्विडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो।
स्विडेनको जितमा ७७ मिनेटमा फोर्सवर्गले पेनाल्टीमार्फत गोल गरे।
स्विडेनका क्वाइसनलाई स्लोभेनियाका दुब्राभ्काले फल गरेपछि पेनाल्टीको दिइएको थियो।
स्लोभाकियाले भने पहिलो हार बेहोरेको हो। स्लोभाकियाले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो।
जितसँगै स्विडेन ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आजको दोस्रो खेलमा क्रोएसिया र चेक गणतन्त्रबीच खेल हुनेछ। खेल राति ९:४५ मा हुनेछ। समूह 'डी' को यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।
अघिल्लो खेलमा चेकले स्कटल्यान्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्यान्डसँग पराजित भएको थियो।
पछिल्ला तीन खेलमा क्रोएसियामाथि चेकले जित हात पार्न सकेको छैन। तीन मध्ये दुई खेल बराबरीमा सकिदा एक खेलमा क्रोएसिया विजयी भएको छ।
दिनको अन्तिम खेलमा राति १२:४५ बजे इंग्ल्यान्ड र स्कटल्यान्डबीच खेल हुनेछ।
पहिलो खेलमा क्रोएसियालाई पराजित गरेको इंग्ल्यान्डले स्कटल्यान्डलाई हराए अन्तिम १६ मा स्थान पक्का गर्नेछ।
दुई छिमेकी टिमबीच अहिलेसम्म भएका ३२ भिडन्त मध्ये इंग्ल्यान्डले १८ खेलमा जित हात पारेको छ। यस्तै ९ खेलमा स्कटल्यान्ड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन्।
पछिल्ला १५ खेल भने बराबरीमा सकिएका छैनन्। १५ मध्ये इंग्ल्यान्ड ११ र स्कटल्यान्ड चार खेलमा विजयी भएका छन्।