स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले अर्जेन्टिनी मिडफिल्डर रोद्रिगो डि पाउललाई भित्र्याएको छ।
उनी इटालियन क्लब युडिनेसेबाट ४२ मिलियन अमेरिकी डलरमा एट्लेटिकोमा आबद्ध भएका हुन्।
एट्लेटिको र डि पाउलबीच पाँच वर्षको सम्झौता भएको छ।
अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको भोलिपल्ट उनी सन् २०२६ सम्मका लागि एट्लेटिकोमा आबद्ध भएका हुन्।
कोपा अमेरिका २०२१ मा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि उनी एट्लेटिकोको नजरमा परेका थिए।
एट्लेटिकोमा आबद्ध हुन पाउनु खुसीको क्षण भएको उनको भनाइ छ।
'म धेरै खुसी भएको छ, म च्याम्पियनसँग आबद्ध भएको छु र आफ्नो जिम्मेवारीबारे सचेत छु,' डि पाउलले भने।
यसअघि उनले सन् २०१६ देखि युडिनेसेबाट खेलेका थिए। जहाँ उनले १७७ खेलमा ३३ गोल गरे।
त्यसअघि उनी दुई वर्ष स्पेनिस क्लब भ्यालेन्सियामा आबद्ध थिए।
भ्यालेन्सियबाट खेल्नुअघि २७ वर्षीय डि पाउलले अर्जेन्टिनी क्लब रेसिङबाट करिअर सुरू गरेका थिए।