साविक विजेता एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले बिल्बाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
एट्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। १५औं मिनेटमा एन्टोइन ग्रीजम्यानले गोल गर्ने उत्कृष्ट अवसर गुमाए। दोस्रो हाफमा दुवै टोली लगातार चुकेका थिए।
७८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। जोआओ फेलिक्स दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए।
तर बिल्बाओले त्यसको फाइदा लिन सकेन। खेलमा एट्लेटिकोले ५५ प्रतिशल बल पोसेसन राख्दै १४ वटा पोस्ट प्रहार गरेको थियो।
यता ४५ प्रतिबल बल पोसेसन राख्न सफल बिल्बाओले ६ वटा पोस्ट प्रहार गरेको थियो। खेलको अन्तिममा एलेक्स बेरेनगुएर पोस्ट नजिक चुक्दा बिल्बाओ जितबाट बन्चित भयो। बिल्बाओका इनिगो मार्टिनेज ‘म्यान अफ दी म्याच’ भए।
बराबरीसँगै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको छ। एट्लेटिकोले पाँच खेलबाट ११ अंक बनाएको छ। बराबरीले शीर्षस्थान उक्लने मौका गुमाएको बिल्बाओ नौ अंक सहित चौथो स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र भ्यालेन्सियाको चार खेलबाट समान १० अंक छ।
शनिबार रातिनै भएको अर्को खेलमा ओसासुनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा २–० गोलले हरायो।
अर्को खेलमा इल्चे र लिभान्तेले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेको छ।