ओमानविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। आइतबार राति कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले ओमानसँग ७-२ गोलको हार बेहोरेको हो।
ओमानले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल गरेको थियो। पहिलो हाफमा नेपाल २-१ ले पछि परेको थियो।
ओमानका लागि फमी सइदले नवौ मिनेटमा, मोहसने गोहराले ३०औं मिनेटमा गोल गर्दा इसम अल शुभीले ४६ र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गरे।
यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गर्न सफल भए।
नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए।
नेपालले साफ च्याम्पियनसिपको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टिम साफको तयारीका हाल कतारमा छ।
साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ।
साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
भारत साफ च्याम्पियनसिपको सबैभन्दा सफल टिम हो। भारतले ७ पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलमा समेत पुग्न सकेको छैन।
नेपाली टिम कतारबाटै माल्दिभ्स जाने कार्यक्रम छ। साफमा नेपालले पहिलो खेल असोज १५ मा आयोजक माल्दिभ्ससँग खेल्नेछ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - अपरान्ह ४:४५ बजे
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे