एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मंगलबार ताजकिस्तान प्रस्थान गरेको छ।
सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टिमले बलिया टिमसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।
सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलान, गौतम श्रेष्ठ पनि युवा टिममा छन्।
छनोटमा नेपाल समूह 'बी'मा छ। यो समूहमा नेपालसँगै इरान, लेवनान र ताजकिस्तान छन्। ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।
छनोट खेलअघिन नेपालले २२ अक्टोबरमा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा हुनेछ।
छनोटको ११ समूहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्।
उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्।
छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु-२३ छनोट प्रतियोगितामा पुग्नेछन्।
नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो।