एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिले एएफसी एसियन कप २०२३ चीनअन्तर्गत अन्तिम चरण छनोट प्रतियोगिताको फर्म्याट परिमार्जन गरेको छ।
यसअघि होम एन्ड अवेमा गराउने भनिएको अन्तिम छनोट अब सेन्ट्रल भेन्यूमा हुनेछ भने समूहको खेल सिंगल राउन्ड रोबिनमा हुनेछ।
एएफसीले अन्तिम चरणको छनोट २०२२ को जुन ८, ११ र १४ मा गर्ने निर्णय गरेको छ।
एएफसीले भाग लिने राष्ट्रलाई छनोट चरणको खेल गराउनका लागि प्रस्ताव पेश गर्न आह्वान गर्नेछ। कोरोना भाइरसका कारण एएफसीले खेल तालिकामा परिमार्जन गरेको हो।
अन्तिम चरणमा २४ टिमबीच प्रतिस्पर्धा हुनेछ। २४ टिमलाई ६ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। अब एक समूहका खेल एक भेन्यूमा हुनेछ।
६ समूहका विजेता ६ टिम र ५ उपविजेता टिम गरी ११ टिम सन् २०२३ मा चीनमा हुने एसियन कपमा छनोट हुनेछन्।
यसअघि आयोजक चीनसहित १३ टिम एसियन कपका लागि छनोट भइसकेका छन्। सन् २०२३ को एसियन कपमा २४ टिमबीच प्रतिस्पर्धा हुने तय छ।
नेपालले पनि एसियन कपको अन्तिम चरणको छनोट खेल्नेछ। अन्तिम चरणको छनोट खेल्ने २४ मध्ये ११ टिमभित्र पर्न सके नेपालले पहिलो पटक एसियन कप खेल्ने अवसर पाउनेछ।
अन्तिम चरणको छनोटमा नेपालसहित उज्वेकिस्तान, बहराइन, जोर्डन, किर्गिस्तान, प्यालेस्टाइन, भारत, ताजिकिस्तान, थाइल्यान्ड, फिलिपिन्स, तुर्कमिनिस्तान, कुवेत, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, मलेसिया, माल्दिभ्स, सिंगापुर, इन्डोनेसिया, कोलम्बिया, मंगोलिया, बंगलादेश र श्रीलंका पुगेका छन्।
यी २४ राष्ट्रको अन्तिम ड्र एएफसीले गरेपछि ६ समूहमा पर्ने टिमको टुंगो लाग्नेछ।