एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले बिहिबार आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ हुनेछ ।
छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रँदा पहिलो अंकको खोजीमा हुनेछ। हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
समूह बी अन्तर्गत आफ्नो पहिलो खेलमा ताजाकिस्तानले लेबननमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। सोही लयलाई ताजिकिस्तान निरन्तरता दिन चाहन्छ ।
यस समूहमा ३ अंक जोडेका इरान र ताजिकिस्तान शीर्ष दुईमा छन्। अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ। ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका छ।