प्रशान्त अवस्थीलाई मंगलबार विहानै अखिल नेपाल फुटबल संघ (एन्फा) बाट फोन आयो। सुतिरहेका प्रशान्तलाई मंगलबारदेखि सुरू हुने बन्द प्रशिक्षणमा सहभागी हुनका लगि फोन आएको थियो।
तर प्रशान्तले आफूलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि बोलाइको कुरा विश्वास नै लागेन। किनभने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि घोषणा गरेको ३५ सदस्यीय प्रारम्भिक टिममा प्रशान्त थिएनन्।
एक्कासी प्रशिक्षणका लागि फोन आएपछि प्रशान्तले सुरूमा तीन-चार जना साथीलाई सोधे। त्यतिले पनि चित्त नबुझेपछि राष्ट्रिय टिमका म्यानेजरलाई नै फोन गरे। म्यानेजरले पक्का गरेपछि प्रशान्त एकदमै खुसी भए।
'फुटबल खेल्न सुरू गरेदेखि नै राष्ट्रिय टिमबाट खेल्ने सपना थियो। त्यहीँ सोचेर हरेक दिन अभ्यास गर्थे,' सातदोबाटो युथ क्लबका मिडफिल्डर प्रशान्तले भने,'तर यति छिटै बन्द प्रशिक्षणमा मौका पाउछु भन्ने लागेको थिएन।'
प्रशान्तले यसै सिजनदेखि ए डिभिजन लिग खेल्न थालेका हुन्। उनलाई नवप्रवेशी सातदोबाटोले बी डिभिजन क्लब खुमलटार युथ क्लबबाट भित्र्याएको थियो।
नवप्रवेशी सातदोबाटोले लिगको सुरूवात उत्कृष्ट गरेको थियो। बीचमा धर्मराएको सातदोबाटोले गत साता सात पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले हराउँदै सनसनी मच्चायो।
सो खेलमा प्रशान्तले उत्कृष्ट खेल देखाएका थिए। उनले अजयी मार्टिन्सलाई गोल गर्न पास मिलाएका थिए। सो खेलको उत्कृष्ट खेलाडीको अवार्ड जितेका प्रशान्तको खेलबाट प्रशिक्षक अलमुताइरी प्रभावित भएका थिए।
त्यसैले अलमुताइरीले प्रशान्तलाई प्रशिक्षण सुरू हुने दिन राष्ट्रिय टिमको प्रारम्भिक टिममा स्थान दिने निर्णय गरे।
पहिलो पटक ए डिभिजन लिग खेलेका प्रशान्तले सुरुवाती खेलमा मौका पाएन थिएनन्। विस्तारै मौका पाउन थालेपछि उनले आफ्नो प्रतिभा देखाउँदै प्रशिक्षकको मन जिते।
'पहिलो पटक ए डिभिजन खेलेकाले सुरुमा आत्वविश्सास थिएन। तर विस्तारै हरेक खेलमा मौका पाउन थालेपछि आत्मविश्वास बढ्दै गयो,' प्रशान्तले भने,' प्रोत्साहित छु। अब मिहिनेत गरेर राष्ट्रिय टिममा पर्ने कोशिस गर्छु।'
नेपाली राष्ट्रिय टिमले आगामी माघ १५ र १८ गते दशरथ रंगशालामा मरिससविरूद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गरेको हो। जसमा प्रारम्भिक टिममा ३४ जना खेलाडीलाई बोलाइएको छ।
यसअघि प्रारम्भिक टिममा रहेका खेलाडी घाइते भएपछि प्रशिक्षकले खेलाडी हेरफेर गर्दै ३५ सदस्यीयबाट ३४ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।