चीनको कुनमिङमा आयोजना हुने ‘साउथ एसिया एक्स्पो’का अवसरमा निम्तो पाएका राष्ट्रपति रामवरण यादवले आफ्नो भ्रमणलाई ‘औपचारिक’ हैसियत दिनुपर्ने र त्यस अवसरमा चिनियाँ राष्ट्रपतिसँग पनि भेट हुनुपर्ने पूर्वसर्त राखेपछि त्यत्तिकै तुहियो त्यो । उनको सर्तका कारण तुहिएको चीन भ्रमणका कारण दुई पक्षीय सम्बन्धमा थप असहजता नआओस् भन्न उद्देश्यले राष्ट्रपति कार्यालय अहिले ‘ड्यामेज कन्ट्रोल’ अभ्यासमा जुटेको छ ।
राष्ट्रपतिको पूर्वसर्तलाई चीन सरकारले सकारात्मक रुपमा लिन सकेन । त्यहाँका राष्ट्रपति सि जिनपिङ यादवको प्रस्तावित भ्रमणमा अवधिमा मुलुकबाहिर रहने हुनाले उनीसँग भेट सम्भव नभएको जानकारी आधिकारिक रुपमा चिनियाँ दूतावासले राष्ट्रपति कार्यालयलाई दिएको थियो । साथै उनको अर्को माग ‘औपचारिक हैसियत’बारे भने चीन सरकार मौन रहेको बुझिएको छ ।
तर, नेपालभित्रै यादवको पूर्वसर्तको आलोचना हुन थालेपछि उनले सरकारमार्फत चीनका राष्ट्रपतिलाई ‘यथासम्भव सुविधाजनक समय’मा नेपाल भ्रमणका लागि निम्तो दिन सक्रियता देखाएका छन् ।
राष्ट्रपति यादवले सन् २००८ अक्टोबरमा चीन भ्रमण गरेका थिए । त्यसपछिको सम्भावित यात्रा उनको अडानले टरेको छ ।
तर, यसबीच उनी चारपल्ट भारत भ्रमणमा गएका छन् र गत वर्ष राष्ट्रपति चुनिएका प्रणव मुखर्जीलाई उनले नेपाल भ्रमणमा निम्ता दिइसकेका छन् । ‘राष्ट्रपतिज्यूले चिनियाँ राष्ट्रपतिलाई भ्रमणको निम्ता दिन सरकारसँग आग्रह गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको एक स्रोतले सेतोपाटीले भन्यो ।
प्रस्तावित ‘साउथ एसिया एक्स्पो’का लागि निमन्त्रणा दिन युनान प्रान्तकी उपगभर्नर अप्रिलमा नेपाल आएकी थिइन् । त्यस बेलाका प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत निम्ता प्राप्त भएको थियो । यादवका पूर्वसर्त चीनले स्वीकार नगरेपछि उनको ठाउँमा उपराष्ट्रपति परमानन्द झा एक्स्पोमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतहरुसमेत राष्ट्रपति यादवको ‘अनावश्यक’ पूर्वसर्तले द्विपक्षीय सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने सुझाव राष्ट्रपतिलाई दिएको बताउँछन् ।
‘गत डिसेम्बरमा उहाँ बनारस जानुभयो, घोषणा गरिएकोभन्दा तल्लो कोटिको अनररी डिग्री बनारस हिन्दू विश्वविद्यालयबाट स्वीकार गर्नुभयो र प्रोटोकलको ख्यालै नगरी दिल्ली जानुभयो । तर, चीनसँग अनावश्यक सर्त राखेर सम्बन्धलाई जटिलतातर्फ धकेल्ने कोशिश गर्नुभयो,’ परराष्ट्रको एक उच्च स्रोत भन्छ ।
राष्ट्रपतिको सट्टा नेपाललाई उच्चस्तरबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति परमानन्द झा जेठ २१ गते एक साताका लागि चीन जाने भएका छन् । एक्स्पोमा नेपालबाट विभिन्न ठूला दलका प्रतिनिधिहरु पनि जाने भएका छन् । कुनमिङ बसाइपछि बेइजिङमा उपराष्ट्रपति झाले चिनियाँ उपराष्ट्रपति ली युनचाओसँग भेट गर्नेछन् ।
चीनका नवनियुक्त प्रधानमन्त्रीले भर्खरै भारत भ्रमण गरेको र चीनको माथिल्लो तहको नेपाल भ्रमण त्यहाँको नेतृत्व परिवर्तनपछि नभएको पृष्ठभूमिमा यादवले सी जिनपिङलाई पठाएको निम्तोको के अर्थ रहला? परराष्ट्र स्रोत पनि यसबारे त्यत्ति आश्वस्त देखिँदैन ।
परराष्ट्र स्रोतले राष्ट्रपति यादवको प्रस्ताव ‘क्याबिनेट’ मार्फत आफूकहाँ आउने भएकाले त्यसबारे विस्तृत विवरण आफूसँग नरहेको जानकारी दियो ।