तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभाको निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने गरी बन्देज लगाउनु बृहत् शान्ति सम्झौताविपरीत हुने बताएका छन्।
तराई मधेस लोकतान्त्रिक पार्टी सप्तरीले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सत्यनिरुपण तथा मेलमिलाप आयोगले कुन मुद्दा राजनीतिक र कुन गैरराजनीतिक भनी निर्क्यौल नगरेसम्म यस्तो कुरामा बन्देज लगाउन नहुने धारणा व्यक्त गरेका हुन्।
जुन अवस्थामा संविधानसभाको पहिलो निर्वाचन भएको हो त्यही अवस्थामा दोस्रो निर्वाचन पनि हुनुपर्ने उनले जिकिर गरे।
संविधानसभाको निर्वाचनमा थ्रेसहोल्ड उपयुक्त नरहेको बताउँदै उहाँले आफ्नो पार्टी थ्रेसहोल्डको विपक्षमा रहेको अडान दोहोर्याएका थिए।
साना दल तथा असहमत पक्षहरुलाई सहमतिमा ल्याउने प्रयास गरी अधिक सहभागिता सुनिश्चित गरिनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले चुनावसम्बन्धी अध्यादेश जारी गराई चुनावको मिति घोषणा गरिनुपर्ने माग गरे।
मङ्सिरको पहिलो सातामा निर्वाचन गराउनु मुलुकको आवश्यकता रहेको बताउँदै अध्यक्ष ठाकुरले निर्वाचन गराई जनतामा रहेको अन्यौलता तत्काल हटाउनुपर्नेमा जोड दिएका थिए।
एउटै लक्ष्य र एउटै आवाज रहेका मधेसवादी दलहरुलाई ऐक्यबद्ध गराई सहकार्य गर्दै अगाडि बढ्नुपर्ने मधेसी जनताको अपेक्षा र अहिलेको राजनीतिक आवश्यकता रहेको पनि उनले बताए।
पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सहमहामन्त्री गोविन्द चौधरी, केन्द्रीय सदस्य पुष्पा ठाकुरलगायतको सहभागिता रहेको थियो। रासस