नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा दुई माओबादी निकट बिद्यार्थी संगठनबिच झडप हुँदा १० जना भन्दा बढि घाइते भएका छन्।
शुक्रबार एकिकृत माओबादी निकट अखिल क्रान्तिकारीले क्याम्पस अगाडि कोण सभा गरिरहेको समयमा बिहान एक्कासी झडप सुरु भएको थियो ।
झडपमा परि एमाओबादी निकट अखिल क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष सुदिप शर्मा, रविन केसी, टंक धमला, लाबहादुर भण्डारी लगायतका विद्यार्थी नेता घाईते भएका छन्।
यस्तै नेकपा–माओबादी निकट अखिल(क्रान्तिकारी) का क्याम्पस इकाइ अध्यक्ष धर्मराज बढुवाल र मदन धामी तथा नेपाल बिद्यार्थी संघका विरेन्द्र रावत समेत घाईते भएका छन्।
घाईतेहरु मध्ये तीन जनाको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ भने बाँकी घाईते उपचार पछि घर फर्किएका छन्।
बैद्य निकट अखिल(क्रान्तिकारी)ले आफ्ना साथीहरुलाई हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप लगाएको छ भने एकिकृत माओबादी निकट अखिल क्रान्तिकारीले आफुहरुको बिरोध कार्यक्रमलाई बिथोल्न खोजेपछि झडपको स्थिति आएको दाबी गरेको छ।
स्ववियु चुनावको लागि उमेदवारी दर्ता गर्ने दिन बिहिबार बिहान एकिकृत माओबादी निकट अखिल क्रान्तिकारीले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि बिद्यार्थी संगठनहरु बिच बिबाद चर्किदै गएको थियो।
दुई बिद्यार्थी संगठन बिच पटक–पटक झडप भएपछि क्याम्पसको अवस्था तनावपुर्ण भएको छ। थप घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ।