काठमाडौं, वैशाख १६ (सेतोपाटी)– राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणद्वारा निर्मित हुने संयुक्त पार्टीले हिन्दू राष्ट्र नेपालको वकालत नगर्ने भएको छ ।
दुवै पार्टीका केन्द्रीय समितिहरूको संयुक्त बैठकमा खासगरी जनजाति सदस्यहरुको विरोधपछि पार्टी नेतृत्वले हिन्दू राष्ट्रको सट्टा अब एकीकृत पार्टीले मुलुकलाई ‘सर्वधर्म सापेक्ष नेपाल’को हैसियत संविधानमा उल्लेख गर्नुपर्ने माग राख्नेछ ।
शुक्रबार भएको ११७ सदस्यीय संयुक्त केन्द्रीय समितिले एकीकरणका लागि पार्टी महाधिवेशन आगामी ३, ४ र ५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । एकीकरण अभियानका उच्च सुत्रका अनुसार हिन्दू राष्ट्र नेपालका पक्षमा अत्याधिक बहुमत भए पनि प्रभावशाली जनजाति नेताहरू खासगरी बुद्धिमान तामाङ र परशुराम खापुङको विरोधलाई सम्मान गर्दै ‘सर्वधर्म सापेक्ष नेपाल’को सम्झौता फर्मुला अगाडि सारिएको हो ।
पुरानो पञ्च पृष्ठभूमिबाट आएका दुई नेताहरुले २०६३ पछि आन्दोलनकारी शक्तिहरूले भित्र्याएका तीन पहिचानमध्ये गणतन्त्र र संघीयतालाई स्वीकार्दै धर्म निरपेक्षताको सट्टा मुलुक हिन्दू राष्ट्रकै रूपमा कायम हुनुपर्ने प्रारम्भिक सहमतिका आधारमा एकीकरण प्रयास सुरु गरेका हुन् ।