नेपाल बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को दोस्रो खेलमा पनि पराजित भएको छ । लगातार दोस्रो खेल हार्ने क्रममा नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको हो ।
विश्वकप क्रिकेटको छनौट खेल पक्का गर्न युगाण्डालाई हराउनैपर्ने दवावमा रहेको नेपाली टोली युगाण्डा सामु निरिह भएको हो । सोमबार नेपालले दोस्रो खेलमा युगान्डालाई दिएको १ सय १७ रनको झिनो लक्ष्यलाई युगाण्डाले २७ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो ।
रोगर मुकासाको अभिजित ४९ रनको सहयोगमा युगाण्डाले सहज जित आत्मसात गरेको हो । नेपालका लागि बसन्त रेग्मीले २ तथा चन्द्र साउद र अमृत भट्टराईले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४४.२ ओभरमै १ सय १६ रनमा समेटिएको थियो । नेपाली ओपनर प्रदीप ऐरीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन । उनले २९ बलमा ४ चौका र १ छक्का समेत हानेका थिए।
अर्का ओपनर सुवास खकुरेल ५ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल १० र पारस खड्का ६ रनमा आउट भए। शक्ति गौचनले २१ रन बनाए। १३ बलमा खाता खोलेका उनले ८३ बल खेले पनि बाउन्ड्री प्रहार गर्न सकेनन्। विनोद भण्डारीले २९ बल खेल्दै ३ चौकाको मद्धतमा १८ रन बनाए। वसन्त रेग्मी ४ रनमा आउट भए। पृथु बाँस्कोटाले २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए। शरद भेषावकरले खाता खोल्न भ्याएनन्। अमृत भट्टराई पनि शुन्यमा आउट भए। चन्द्र साउद ३ रनमा अविजित रहे। युगान्डाका फ्रान्क सुगुबा र डेविस एरिनाइटवेले ३–३ विकेट लिए।