संवैधानिक परिषद्ले पूर्वमूख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णयविरुद्ध पेश भएको रिट दर्ता हुने भएको छ ।
न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले सर्वोच्च प्रशासनको िरिट दर्ता नगर्ने निर्णय बदर गरेपछि कार्की सिफारिसविरुद्धको रिट दर्तो हुने भएको हो ।
संवैधानिक परिषद्ले आईतबार सिफारिस गरेलगत्तै सोमबार रिट सर्वोच्च प्रशासनमा पेश भइ पनि दर्ता हुन सकेको थिएन । सोमबार सर्वोचच प्रशासनले प्रक्रिया नपुर्याइ अदालत ल्याएको भन्दै दर्ता अस्वीकार गरेको थियो । सर्वोच्चको पुस ५ गतेको फैसला अनुसार रिटका विपक्षीलाई जानकारी गराएर मात्रै रिट ल्याउनुपर्नेमा त्यसो नगरेको भन्दै रिट दर्ता गर्न प्रशासनले अस्वीकार गरेको थियो । रिट निवेदक ओमप्रकाश अर्यालले भने पुस ५ को फैसला आफूले पेश गरेको निवेदनमा मात्रै लागू गर्ने प्रशासनको पूर्वाग्रही निर्णय भन्दै त्यसविरुद्ध इजलासमा निवेदन दिएका थिए ।
न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले शुक्रबार त्यही निवेदनको सुनुवाई गर्दै प्रशासनको रिट निवेदन दर्ता नगर्ने निर्णय बदर गरेको हो । यो निर्णयसँगै सर्वोच्चमा अब लोकमानविरुद्धको मुद्दा दर्ता हुने भएको छ । कार्की सिफारिसविरुद्ध कार्यान्वयन नगराउने माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरे पनि रिट दर्ता नहुँदै बुधबार नै राष्ट्रपति रामवरण यादवले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गराइसकेका छन् ।