चितवनको सौराहामा जारी आदिवासी जनजाति महासङ्घको आठौ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
आज बिहान ८ बजेबाट प्रक्रिया शुरु गरी ११ बजेबाट औपचारिक काम थाल्ने कार्य तालिका भएपनि निर्वाचन प्रणालीबारे विवाद भएपछि प्रक्रिया अवरुद्ध हुन पुगेको हो।
जिल्ला समन्वय परिषद्का पदाधिकारीले पुरानो समिति विघटन भएलगत्तै निर्वाचन प्रणालीबारे आफूहरुले हिजो राखेको माग सम्बोधन नभएकाले निर्वाचन प्रक्रिया अवरुद्ध गरेको बताएका छन्।
उनीहरुले नाराबाजी गर्दै प्रक्रिया अगाडि बढ्न नदिएको सहभागी एक प्रतिनिधिले जानकारी दिए । विधान संशोधनको विषयमा जिल्ला समन्वय परिषद्बारा दुई बुँदे माग राखेकाले तत्कालका लागि केही विवाद देखिएको निवर्तमान अध्यक्ष राजकुमार लेखीले जानकारी गराए ।
“सङ्घीय परिषद् सचिवालय (केन्द्रीय समिति) मा पदाधिकारी चयन र मताधिकार माग गर्नु भएकाले मतदानको काम ढिला भएको हो, अहिले सो विषयमा वार्ता चलिरहेकेा छ”– लेखीले भने ।
यसअघि महासङ्घमा सहभागी जातीय सङ्गठनका अध्यक्षले मतदान गर्ने प्रावधान रहेको थियो। विवाद मिलेमा लगत्तै उमेद्वारी दर्ताको प्रक्रिया सुरु गरिने र आजै ४ बजेपछि मतदान सुरु हुने कार्यतालिका रहेको उनले जानकारी दिए ।
जारी महाधिवेशनको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी तीन वर्ष कार्यकालका लागि अध्यक्ष पदमा नगेन्द्र कुमाल, चन्द्रविक्रम राई, पेम्बा छिरिङ शेर्पाले उम्मेदवारी दिने पक्का भएको छ भने महासचिवमा पदमा जन्डु डोक्चा, गोविन्द छन्त्याल, नवीन रोका मगर, पेम्बा बोटे, ज्ञानबहादुर बोटे, धनमान गुरुङ, किरण सुनुवार र नट्टु घर्ती मगरको नाम चर्चामा रहेको छ।
यसअघि हिजोबाट सुरु भएको बन्दसत्रमा महासचिव आङकाजी शेर्पा र कोषाध्यक्षमा डन्डु डोक्चाले प्रस्तुत गरेको प्रतिवेदन केही सुझावसहित परिमार्जन गरी पारित गरिएको छ।
यसैबीच निवर्तमान अध्यक्ष राजकुमार लेखीले मूलधारको राजनीतिमा प्रवेश गर्न लागेको कारण आफूले उम्मेदवारी नदिएको जानकारी दिए ।
आङकाजी शेर्पाले पनि अध्यक्ष र महासचिव कुनै पदमा पनि उम्मेदवारी नदिने घोषणा गरेका छन्। आदिवासी जनजाति महासङ्घले जारी महाधिवेशनबाट आज अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी १३ सदस्यीय सङ्घीय परिषद् सचिवालय चयन गर्नेछ। रासस