आगामी संविधानसभाको चुनावमा भाग लिन आवश्यक १० हजार मतदाताको हस्ताक्षर जुटाउन नसकेर साना दलहरूको विचल्ली भएको छ ।
दल दर्ताको म्याद दुई हप्तामात्र बाँकी रहँदा तीन वटा दलले मात्र १० हजार समर्थकको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ता गराएर चुनाव चिह्नका लागि निवेदन दिएका छन् । १० हजार हस्ताक्षरसहित आवेदन दिनेमा शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी, कृष्णहरि अधिकारी अध्यक्ष रहेको नेपाल नागरिक पार्टी र तेजबहादुर बस्नेतले नेतृत्व गरेको जनप्रजातान्त्रिक पाटी रहेका छन् ।
नयाँ निर्वाचन ऐनअनुसार गत संविधान सभामा प्रतिनिधित्व नभएका दलहरूले संविधानसभा चुनावमा भाग लिन १० हजार मतदाताको हस्ताक्षरसहित उनीहरूको नागरिकता र मतदाता नम्बर पेस गर्नुपर्नेछ । एउटै व्यक्तिले दुईवटा पार्टीलाई सिफारिस गर्न नपाइने निर्वाचन आयोगले जनाएपछि साना पार्टीहरू थप अप्ठ्यारोमा परेका हुन् ।
‘दोहोरो हस्ताक्षर भेटिएमा पार्टीको आवेदन बदर समेत गर्ने कि भन्ने सोचमा छौं, हामी कार्यविधि तयार गरेर छिट्टै टुंगोमा पुग्छौं,’ निर्वाचन आयोगका एक सदस्यले भने ।
निर्वाचन आयोगमा हाल १ सय १९ दल दर्ता छन् जसमध्ये ३४ दलको गत संविधानसभामा प्रतिनिधित्व थियो । यी ३४ दलबाहेक सबैले संविधानसभामा भाग लिन १० हजार समर्थकको हस्ताक्षर बुझाउनुपर्छ ।
आवश्यक हस्ताक्षर जुटाउन नसकेपछि साना दलहरू उक्त प्रावधान हटाइदिन लबिङ गर्दै सरकार र ठूला पार्टीका ढोकामा पुगेका छन् । ‘साना पार्टीहरू १० हजार हस्ताक्षरको प्रावधान हटाइदिनुप¥यो, हामी आन्दोलन छोडेर तुरुन्त निर्वाचनमा सहभागी हुन्छौं भन्दै आइरहेका छन्,’ एक मन्त्रीले भने । सरकारको गुहार माग्नेमा नेकपा–माओवादी वैद्य समूहसँग आबद्ध ३३ दलका केही दलसमेत भएको ती मन्त्रीले बताए ।
‘वैद्यजीहरूसँग आन्दोलनरत धेरै दलहरू निर्वाचन आयोगको यो प्रावधान हटे आन्दोलन छाडेर चुनावमा आउने देख्छु म,’ ती मन्त्रीले भने ।
साना दलहरू १० हजारको प्रावधान हटाइदिन अनुरोध गर्दै एनेकपा माओवादीसँग पनि पुगेका छन् । उनीहरूको कुरा सुनेपछि एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले १० हजारको प्रावधान हटाउन आफूले पहल गर्ने आश्वासन दिएको साना पार्टीका एक नेताले बताए ।
नयाँ मतदाता दर्ता न्यून
निर्वाचन आयोगले आसन्न संविधानसभालाई लक्षित गरी गृह मन्त्रालयको नागरिकता टोलीसँगै मिलेर मतदाता दर्ता अभियान गाउँगाउँ पुर्याए पनि नयाँ मतदाता दर्ता न्यून देखिएकोे छ । वैशाख १६ देखि अभियान थालेको आयोग हालसम्म १ लाख ४० हजारमात्र नयाँ मतदाता दर्ता गराउन सफल भएको छ । ती पनि अधिकांश नागरिकता लिएकामध्ये १८ वर्ष उमेर पुगेकामात्र छन् ।
नयाँ दर्तासँगै हालसम्म मतदाताको जम्मा संख्या १ करोड १३ लाख ४७ हजार पुगेको छ । राष्ट्रिय जनगणना २०६९ले १८ वर्ष उमेर पुगेका नेपालीहरूको जनसंख्या १ करोड ५४ लाख देखाएकाले अझैं ४० लाखभन्दा बढी उमेर पुगेका नेपालीहरू मतदाता सूचीमा नसमेटिएको देखिएको छ । ‘निर्वाचनको मिति नतोकिएकाले मतदाताहरूमा नाम दर्ता गर्ने उत्साह नदेखिएको हो,’ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सेतोपाटीसँग भने । उप्रेतीले पछिल्लो जनगणनाले देखाएका १ करोड ५४ लाख वयस्क मतदातामध्ये लगभग २५ लाख देशबाहिर रहेको अनुमान गरेका छन् ।
‘विदेशिएका नेपालीहरू कटाउँदा पनि अझै १५ लाखभन्दा बढी नेपालीहरू मतदाता सूचीमा समेटिन सकेका छैनन्,’ उप्रेतीले भने, ‘हाम्रो लक्ष्य यी सबैलाई समेट्ने हो ।’ गत संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख मतदाता थिए । फोटोसहित मतदाता नामावली अध्यावधिक गर्दा मतदाता संख्या ह्वात्तै घटेको हो ।