विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीलाई रङगमञ्च अब्बल बनाउने उद्देश्यका साथ मंगलबारदेखि राजधानीमा बालनाटक महोत्सव सुरु भएको छ।
रङगमञ्चमा सक्रिय युवाहरुको संयुक्त प्रयासमा नाटक मेला सुरु भएको हो। आगामी जेठ १२ सम्म चल्ने महोत्सवमा विभिन्न ५ विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा गत फागुनमा सम्पन्न राष्ट्रिय बाल नाटक महोत्सवमा प्रदर्शन भएका १४ मध्ये उत्कृष्ट ६ नाटक प्रदर्शन गरिनेछ।
मंगलबार पहिलो दिन फूल राईट स्कूल भक्तपुरको नाटक 'पोशाक' प्रदर्शन गरिएको छ। मेलाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले गरेका हुन । मेलाको उद्घाटन गर्दै मन्त्री श्रेषठले संस्कृतिका नाममा ठुलो रकम दुरुपयोग हुने गरेको बताएका छन्। उनले कला र संस्कृतिका क्षेत्रमा सक्रिय सरकारी संस्थामा समेत विनियोजित बजेटको ९० प्रतिशत भन्दा धेरै रकम तलब र भत्तामा खर्च हुँदा कला क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताए। मेलाको संयोजक किशोर अनुरागले नाट्य क्षेत्रको विकासमा थप गृहकार्य गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। मेला ६ दिनसम्म चल्नेछ।