अखिल नेपाल फुटवल संघले आगामी विहिबारबाट सुरु हुने मुलुककै दोस्रो सर्वाधिक पुरस्कार राशीको गोर्खा कप फुटवल प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
एन्फाले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।
संघले यस पटक सहभागीताको दायरालाई बढाई ए डिभिजनका साथै बी डिभिजनका बिजेतालाई समेत मौका दिइएको छ।
पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले यो वर्षका सबै नकआउट प्रतियोगितामा मुनाल, देशभक्त र टुसालले भाग लिने बताए। 'जिल्ला र बी डिभिजन उपविजेताको मागलाई ध्यानमा राख्दै यो वर्ष नकआउट खेल्ने मौका दिएका हौं,' उनले भने, 'यो वर्ष हुने सबै नकआउटमा तीन क्लबको सहभागिता रहनेछ।' थापाले राजधानीमा गोर्खा कप र एनसेल कपबाहेक अर्को एउटा नकआउट प्रतियोगिता गर्ने लक्ष्य रहेको बताए।
एन्फाले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाउँदै सहभागी टोलीलाई तयारीबापत ५० हजार रुपैयाँ दिने जनाएको छ। ५४ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा उपत्यका बाहिरबाट भाग लिने क्लबलाई एन्फाले खाना, बसोबास र यातायात खर्च उपलब्ध गराउने महासचिव धीरेन्द्र प्रधानले बताए ।
ए डिभिजन मान्यताप्राप्त जिल्लाको च्याम्पियन मुनाल क्लब झापा र बीको विजेता नवलपरासीको देशभक्त क्लब, सहिद स्मारक बी डिभिजन उपविजेता टुसाल तथा १३ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
लिग–कम–नकआउटको आधारमा खेलाइने सो प्रतियोगितामा १६ वटा क्लबलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल प्रहरी क्लब, सरस्वती युवा क्लब, मच्छिन्द्र क्लब, झापाको मुनाल क्लब समूह ए मा रहेका छन् भने थ्रीस्टार क्लब, सशस्त्र प्रहरी क्लब, रानीपोखरी कर्नर टिम (आरसीटी) र देशभक्ति युवा क्लब समूह बी मा छन्।
यस्तै मनाङ मर्स्याङ्दी क्लब, नेपाल आर्मी, सङ्कटा क्लब र टुसाल युथ क्लब समूह सी मा छन् भने हिमालयन शेर्पा, जाउलाखेल युथ क्लब, फ्रेन्डस क्लब र व्ब्ााइज युनियन क्लब समूह डी मा रहेका छन्।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। नेपाली फुटबलको यो दोस्रो ठूलो पुरस्कार राशिको नकआउट प्रतियोगिता हो। सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता एनसेल कप विजेताले १५ लाख रुपैयाँ पाउँनेछन्।
गोर्खा कपको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल जित्ने छन् भने फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक तथा प्रशिक्षकमा उत्कृष्टले जनही ५० हजार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
एन्फाले खेलको लागि भिआइपीतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकट दर तोकेको छ।
बिहीबार साविक विजेता नेपाल पुलिस र मुनाल तथा सरस्वती र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ।